राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय

गाउँपालिकाद्वारा एघार टिप्पर र तीन डोजर नियन्त्रणमा

 देउखुरी,  लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् ।

यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर र तीन वटा डोजर नियन्त्रणमा लिएको छ । पुलनिजकबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको बेला गाउँपालिकाले नियन्त्रणमा लिएको हो । अध्यक्ष सहजराम यादवको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको छ । गाउँपालिकासँग कुनै सम्झौता नभएकाले अवैध उत्खनन् गर्ने गाडी नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।

पछिल्लो समय राप्ती नदी आसपासमा स्थापना भएका क्रसरहरुले राप्ती नदीमा दोहनको आतंक नै मच्चाएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए । डोजर टिप्पर मात्र होइन अब वास्तविक खेलाडीलाई कठघरामा उभ्याउनुपर्छ’– उनले भने– ‘कारवाही नहुने अवस्था आए जनताले सेटिङमा संलग्नहरुको नाम सार्वजनिक गर्न बाध्य हुनेछन्, यो चरणमा पुग्न नपरोस् । स्थानीय तहले नियन्त्रणमा लिए पनि प्रहरी प्रशासनले कारवाही गर्ने नगरेको यसअघिदेखि स्थानीयले गुनासो गर्दै आएका छन् ।