पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानको कराचीमा ९९  यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको उक्त विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको छ।

डनका अनुसार विमानमा चालकदलका सदस्यसहित १०७ यात्रु सवार थिए। तीमध्ये कसैको हताहतीको समाचार नआए पनि घटनास्थलका फुटेजहरु हेर्दा ठूलै क्षति भएको अनुमान गरिएको छ।

पाकिस्तानका सेनाध्यक्ष जनरल कमर जावेद बाजवाले ‘बहुमूल्य जीवनको क्षति’ का लागि शोक व्यक्त गरेको समाचारमा उल्लेख छ।

विमान अवतरण गर्नु ठिक अघि विमानस्थल नजिकको मोडल कोलोनीमा खसेको उक्त विमानले बाहिर कति क्षति पुर्यायो भन्ने विवरण प्राप्त नभए पनि घटनास्थलमा गाडी र घरहरुबाट धुवाँको मुस्लो उठेको देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

पीआईएको उक्त इयरबस ए–३२० पीके ८३०३ दिउँसो एक बजे लाहौरबाट उडेको थियो।