कुशे गाउँपालिकामा घर–घरमै पढाई, शिक्षक बने अभिभावक

जाजरकाेट, कुशे गाउँपालिकामा बालबालिकाकालाइ पढाउन नयाँ बिधिकाे अबलम्बन गरिएकाे छ ।लकडाउनका कारण देशभर बिद्यालयहरू बन्द रहेकाे बेला बालबालिका पढाउन  अभिभावक नै शिक्षक  बनेका हुन् ।

घर–घरमै दैनिक पढाई कार्य संचालनमा आएको छ । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनबाट बिद्यालय जानबाट बन्चित भएका प्रारम्भिक बाल बिकास केन्द्र र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत बालबालिकाहरुको शिक्षक घरका अभिभाव बनेका हुन् ।

पढाईका लागि बिद्यालय जानबाट बन्चित बालबालिकाहरुलाई कुलत कार्यमा लाग्न, विकृति एवं बिसंगतीबाट रोक्न, घरमा हुने बालश्रमबाट जोगाउन, घरमै पढ्ने बानीको विकास गर्न घर–घरमै विद्यालय अवधारण ल्याइएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका सामाजिक परिचालन अधिकृत निर्मला थापाको भनाई रहेको छ ।

समय तालिका निर्माण गरेर दैनिक बालबालिकाको व्यक्तिगत सरसरफाइ र पढाइमै व्यस्त राख्न कुशे गाउँपालिकामा अभिभावकहरु लागि परेको अधिकृत थापाले जानकारी दिईन । बालबालिकाका आमा–वुवा, दाजु–दिदीहरुले घर–घरमै शिक्षकको भुमिका निर्वाह गरेका छन् अधिकृत थापाले भनिन्–‘गाँउपालिकामा अहिले ६३ घरधुरीका २४ जना प्रारम्भिक बाल बिकास केन्द्रमा अध्ययनरत १ सय ७ जना कक्षा १ देखि १० सम्म अध्ययनरत बालबालिकाहरुलाई घरमै अभिभावकले विद्यालय कार्य तथा पढाई कार्यमा सहभागी गराई रहेका छन ।’

समय तालिका अनुसार दैनिक घरमै पढाई कार्य सुरु भएपछि बालबालिकाहरुको पढाई कस्तो होला ? भन्ने अभिभावकको चिन्ता कम हुन थालेको अधिकृत थापाले दावी गरेकी छन् । लकडाउनका कारण विद्यालय जान बन्चित भएका बालबालिकाहरुको पढाईमा सुधार हुनुको साथै अभिभावकको चिन्ता हराएको उनले बताईन् ।

गाँउपालिकाको समन्वय, सेभ द चिल्डे«नको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले कुशे गाँउपालिकामा सन् २०१९ अप्रिलदेखि सहयात्रा दोस्रो र अवसर परियोजना संचालनमा रहेको छ । उक्त परियोजनाले बालबालिकाहरुको बालमैत्री वातावरणमा स्थानीय शैक्षिक सामाग्री निमार्ण तथा प्रयोग गरी बालबालिकाको विद्यालयमा नियमितता, सिकाइ उपलब्धी वृद्धि गर्न र विद्यालयमा शान्त वातावरण सृजाना कार्यलाई कार्यान्वयनमा ल्याई रहेको छ ।