भारत–चीनबीच सीमा क्षेत्रमा फेरि तनाव, थप सैनिक परिचालन

एजेन्सी, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको बताइएकाे छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद बढेको हो ।

दुवै देशले लद्दाखको गलवान घाटी र पेंगोंग त्सो तालको आसपासका क्षेत्रमा थप सैनिक खटाएका छन् । भारतका वरिष्ठ सैन्य अधिकारीहरुले सो क्षेत्रमा निरन्तर निगरानी बढाएका छन् ।

चीनले पोंगोंग त्सो तालको आसपासका क्षेत्रमा सैनिकको उपस्थिति बढाएको छ । चिनियाँ सेना तालमा अतिरिक्त नाउ समेत लिएर आएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

दुवै पक्षले डेमचोक र दौलत बेग ओल्डीजस्ता स्थानमा थप सैनिक बल परिचालन गरेका छन् । गलवानको आसपास पछिल्लो ६ महिनादेखि दुई पक्षबीच विवाद बढिरहेको छ ।

भारतले गलवान क्षेत्रमा सडक निर्माण गरेपछि चीनसँग विवाद बढेको हो । ५ मेमा भारत र चीनका सैनिकबीच सो क्षेत्रमा झडप हुँदा दुवै पक्षका केही सैनिक घाइते भएका थिए ।