लिम्पियाधुरा–लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं । सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए । सरकारले ती सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । आज (बुधबार) सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ ।

भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्र्याक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो । सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्ने बताएको थियो ।

सरकारले नक्सा सार्वजनिक गर्दै भारतसँग कूटनीतिक पहल जारी राख्ने निर्णय गरेको छ । भारतले कोरोनाको सङ्क्रमण पार लागेपछि वार्ता गर्ने बताए पनि नेपालले पर्खन नसक्ने र तत्कालै वार्तामा बस्न पनि आग्रह गरिरहेको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।