कोरोनाका लागि सरकारले गरेको प्रयास असफल भयो : प्रधानमन्त्री ओली

काठमाडौं,   प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपाली नागरिक कसैको मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , ’हाम्रो कोही कोरोना संक्रमितले ज्यान गुमाउनु नपरोस् भनेर प्रयास गर्दागर्दै विभिन्न कारणहरूले सरकार असफल बताए ।

कोरोनाबाट मृत्यु भएका भनिएका दुई जनाको अन्य कारणले पनि मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।’

मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले त्यसका लागि गरिरहेका कामबारे पनि संसदलाई जानकारी गराएका छन् ।

‘बढी परीक्षण गर्ने, भरपर्दो ढंगले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दो गर्ने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको छ,’ ओलीले भने ।