कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो : चीन

काठमाडौं, चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । हामीलाई आशा छ कि दुई छिमेकीले ‘एकतर्फी क्रियाकलाप’ रोकेर मित्रवत छलफलबाट सहीरुपमा समस्या समाधान गर्नेछन् ।”

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको भारतले नयाँ सडक उद्घाटन गरेको विषयमा नेपालको असन्तुष्टि कसैबाट प्रेरित भएको भन्‍ने अभिव्यक्तिको प्रतिक्रियामा उनले थपे, “दुवै मुलुकबीचको आपसी मुद्दा हो । दुवै मुलुकले मैत्रीपूर्ण छलफलबाट समस्या हल गर्ने आशा छ ।”

यसअघि भारतीय सेना प्रमुखले भनेका थिए, “वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ। त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन ।”

उनले चीनलाई संकेत गरेको हुनसक्ने अनुमान गरिएको थियो । “मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,” नरवणेले भनेका थिए ।

यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा उक्त सडकको उद्घाटन गरेका थिए । यस विषयमा नेपालमा चर्को विरोध भएपछि नेपाल सरकारले सोमबार नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा स्वीकृत गरेको थियो । –इकोनमिक टाइम्स