सीमाका ८४ स्थानमा सशस्त्र प्रहरी

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोष्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ ।

भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा एक हजार ४०० सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।