भारतीय सेना प्रमुखको आरोप : नेपाल अरु कसैको इशारामा उचालियो

काठमाडौं,  भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको बताएका छन् । उनले अहिले यो विवाद निस्किनुमा नेपाललाई कसैले उचालेको उल्लेख गरे । यद्यपि उनले तेस्रो कसले नेपाललाई उचालेको हो भनेर कुनै देशको नाम भने लिएका छैनन् ।

नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । भारतले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उद्घाटन गरेको थियो ।

नेपाली भूमिमा बाटो निर्माण गरेसँगै नेपालले आपत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दाबी गर्दै आएको छ । यस विषयलाई लिएर नेपालमा आक्रोश फैलिएको छ । द हिन्दूबाट