कालापानी अनुगमनपछि काठमाडौं फर्कंदै गृहको टोली

दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ ।  बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको टोली आज काठमाडौं फर्किन लागेको हो । 

टाेली आज सेनाको हेलिकोप्टरबाट दार्चुला–सुर्खेत हुँदै काठमाडौं आउन लागेको बताइएको छ ।   भारतले एकतर्फी रूपमा कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि बुधबार सशस्त्र एआईजी नारायणबाबु थापाले बुधबार बीओपीको उद्घाटन गरेका थिए ।

दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । बीओपीमा अहिले २५ जनाको जनशक्ति रहने बताइएकाे छ । 

बीओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर गएको थियो ।