गुलाम

कविता

तिमी सक्छौ भने
मेरा हातबाट
ति राता राता पुस्तकहरु च्यातेर देखाउ
जुन पुस्तकले मलाई
गुलाम बन्न रोकिरहेका छन्।

तिमी सक्छौ भने
मेरा भुइँ मुनिका धरातलहरु
भत्काएर देखाउ
जुन धरातलको जगले मलाई
गुलाम बन्न रोकिरहेका छन्।

म त बहादुर देशको
क्रान्तिकारी मान्छे
न त मेरा पुर्खाले सिकाए
न त तस्बिरमा भएका
ती जर्मनीका लामा लामा दारी
पालेका ती मेरा गुरुले सिकाए
गुलाम भएर बाच्न।
तिमी सक्छौ भने
मेरा आदर्श गुरुका
आदर्शहरु मेरा मस्तिष्कबाट
मेटाएर देखाउ
जुन आदर्शले मलाई
गुलाम बन्न रोकिरहेका छन्।

तिमी सक्छौ भने
भित्तामा छ्याप्छयाप्ती झुन्डाएका
क्रान्तिकारीहरुका तस्बिरहरु
चोक चोक गल्ली गल्लीहरु बाट
हटाउन लगाइ देउ
जुन गल्ली गल्लीका भित्ताहरुले
मलाई
गुलाम बन्न रोकिरहेका छन्।

तिमी सक्छौ भने
‘चे’ ले बोकेका ती
बन्दुकका नालबाट, नपुंसकहरुको
एकटक्क धड्कन रोकिने
पलको सम्झना मेटाइ देउ
जुन सम्झनाले मलाई पटकपटक
गुलाम बन्न रोकिरहेका छन्।

मैले लिने अक्सिजनमा
ती राता मान्छेहरुका
आहुतिका कणहरु आउन रोकि देउ
जुन कणको धुलोले मलाई
गुलाम बन्न रोकिरहेका छन्।

दैलेख ।