चरित्र

लघुकथा

निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अव उमंगको पंखा हम्केर बस्न थाल्यो ।

उसको बढुवासँगै उसको दिनचर्या पनि वदलियो । उ अव सधै अन्तरकृया, गोष्ठी, सेमिनारहरुमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आसनमा रहने ऊ अचानक खुशी देखिन थाल्यो ।

उसलाई पत्रकारहरुले पनि प्रखर वक्ताका रुपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, चेलीवेटी वेचविखन, लागू औषध जस्ता सामाजिक बिकृतिहरुका वारेमा उ सशक्तरुपमा भाषण दिन थालेको थियो ।

एक दिन खुलामञ्चमा महिलाहिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एन.जि.ओ.द्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो —

“आदरणीय जनसमुदायहरु, आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । आज हामी माझ परम्परागत कुरीति, विकृति, विसंगतीले गर्दा देशको विकास हुन सकिरहेको छैन ।

वालविवाह, यौन दुर्व्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीवहिनीहरु आक्रान्त वनेका छन् । उनीहरु आत्महत्या गर्न बिवश छन् । जिउँदै जलाईएका छन । जबसम्म महिलाहरु सशक्त हुँदैनन् , जवसम्म उनीहरुको आत्मसम्मानलाई सबैले स्वीकार गर्दैनन् तव सम्म देश विकास हुँदैन । म यति भन्दै……………..“

उसको भाषण सकिने वित्तिकै दर्शक दिर्घावाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरुले नेता हुनु त वीरबहादुर जस्तो हुनु भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भए मात्र देश विकास हुन्छ भनेर सवैले तारिफ गरे ।

एक महिला दर्शक दीर्घाको पछाडि तीनवटी छोरी च्यापेर रुँदै थिई , “ विहेमा दाईजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरवाट निकालिएकी हुँ । म त्यही नेताकी श्रीमती हुँ जो आहिले मंचमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ । ”

बागमती ११, कर्मैया, सर्लाही

Chat Conversation End
Type a message…