एउटा असन्तुष्टि वक्तव्य

कविता

विश्वबिद्यालयबाट प्रथम श्रेणीमा
स्नातकोत्तर उत्तीर्ण गरेका
एक हुल युवाहरु
ईपिएस् पास भएको अवसरमा
खुसी सेलिब्रेट गरिरहेछन् ।

छोरो शहर बसेर पढ्दै गर्दा
बम्बैका गल्लीमा बाले
मारबाडीको गाडी पखाल्ने बेलामा
सधैँ राम राम गर्दै सोच्थे
मेरो छोराले कहिल्यै विदेश जानु नपरोस् ।

हरेक दशैँमा
बाआमाले दशैँको टिका लगाउनेबेलामा
छोरा डाक्टर बन्नु है भनेर दिएको आशीर्वाद
आज अभिशाप भएको छ ।

शहरका कुनै होटलहरुमा
छोराले शानसँग पाटी दिदै गर्दा
अब छोराको पढाई पुरा भयो
अब म कहिल्यै बम्बै जादैन
भनेर घरमै बसेका बाले
छोरोलाई विदेश पठाउनका लागी
एकपटक फेरि चौकीदारी गर्न
बम्बै पुग्नुपर्ने अवस्था आएको छ ।

अवसर छैन भनेर छोडेको मुलुकमा
कतै अवसरले हामीलाई खोज्दै पो छ की ?

उ….. हेर त
बाजेले उपहारमा छोडेको खोरिया
लास जस्तो भएको छ
कतै त्यही खोरिया पसिनाले सिञ्चित गरे
देशकै उत्कृष्ट कोरिया पो बन्छ कि ?

बाले बलबुताले जोगाएको भेडीगोठ
आजभोली ओठ सुकाएर तिर्खाएको छ
त्यही भोडीगोठ मर्मत गरेर
आधुनिक भेडापालन गर्दा
युरोप जस्तो बन्न लागेको दुबई यही त छैन ।

विश्वबिद्यालयको पढाईले
जिवनको लिगलिगे दौड हारेका मान्छेहरु
आज पैसाको म्याराथुन जित्छु भनेर
युद्व जितेको देशजत्तिकै खुसी छन् ।

हामीलाई थाहा छ
खाडीको गर्मीमा प्रेसरले च्यापेर मर्ने
हाम्रै दाजुभाई हुन्
मुदिरको आदेश सहन नसकेर
र आफ्नै स्वाभीमान सम्झेर
अरबमा सुसाइड गर्ने पनि हाम्रै दाजुभाई हुन् ।
दैनिक अठार घण्टाको कामको चापले
काम गर्न गएकै बेला भेटिने लास पनि
हाम्रै नेपाली दाजुभाइका हुन् ।

र पनि हामी किन मनाईरहेछौ
विदेश जाने भिसा हात लाग्दा खुसी ।

सरकार कि आफै गएर गर वैदेशिक गुलाम
र हाम्रो हातमा थमाइदे बिरामी देश
कि बन्द गरा तेरा उत्कृष्ट बेरोजगार
उत्पादन गर्ने थोत्रा विश्वबिद्यालयहरु
र थमाइदे जन्मनेबित्तिकै
हरेक नागरिकको हातमा हरियो राहदानी ।
ताकी आजका बच्चाहरुलाई
भोली विश्वबिद्यालय पढ्ने पैसाले
पहिलो विदेशको हवाई टिकट पुगोस् ।