परिचय

कविता

आऊ म तिमिलाई मेरो परिचय दिन्छु
हैन भने तिमिसँग,
कसैले भन्ला ” ऊ अग्लि छे” मेरो शरीर हेरेर
कोहि भन्ला “ऊ घमण्डी छे” मेरो मौनता देखेर
कोहि बताउला “ऊ सुन्दर छे” मेरो रुप हेरेर
कोहि ठान्ला “ऊ जनजाति हो” मेरो आँखा र नाक हेरेर
कोहि सोच्ला ” ऊ बुढी हो” मेरा हुर्केका सन्तान देखेर
कोहि भन्ला ” ऊ बिबाहित हो” मेरो श्रिङ्गार देखेर
कोहि भन्ला ” ऊ अज्ञानि हो” मेरो भुगोल हेरेर
कोहि भन्नेछ ” ऊ चरित्रहीन छ” कसैको कुरा सुनेर
कोहि भन्ला ” ऊ मिहिनेती छ” मेरो काम देखेर
कोहि बताउनेछ अझै अन्य अन्य शीर्षकमा मेरो परिचय ।

ठिक छ मलाई ,जसले जसरी बुझे पनि
तर,आऊ म तिमिलाई मेरो परिचय दिन्छु
जसरी अनन्त बिस्तारीत छ,आकाशको आयतन
जसरी निष्फिक्री हिन्दछ पानीको लय
जसरी नलजाईकन फुल्छन् फूलहरु
हो,
त्यसै गरि हुर्काउन मन पराउँछु म
मैले पाएको जीवनको समय
ताराहरुले कहिल्यै भनेनन् -“औँशिमा हाँस्दिनँ”
सुर्यले कहिल्यै रोकेन -उज्यालोको यात्रा
चन्द्रमाले कहिल्यै गुनासो गरेन
आधा जुनि लुकेर बाँच्नुपर्छ भनेर
हावाले कहिल्यै मागेन
आफ्नो पहिचानको नागरिकता
अनि,
आमाले कहिल्यै थापिनन् सन्तानसँग
आफ्नो यौवनको क्षतिपूर्ति
बाबाले कहिल्यै हारेनन्
पसिनाको गन्धसँग
यो सबै हेरेर मैले जानेकी हुँ श्वास फेर्न
ए साथीहरु!
सबैभन्दा पहिले त आफैले आफैलाई चिन्नु पर्दैन र!
तीनिहरु को हुन् ??
जसले मेरो परिचय बोल्छन् !

जाजरकोट