बर्दियाले गर्यो बाँकेसँग जोडिएका सबै सीमानाका सिल
गुलरिया, बर्दिया नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ।
दुई जिल्ला जोड्ने मुख्य सडक नाका मानखोलामा दुईवटा पुल छन् भने बढैयाताल गाउँपालिकाको जमुनीमा झोलुंगे पुलबाट मानिस आउजाउ गर्छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालगन्जबाट शंकास्पद व्यक्तिहरू बर्दिया पस्ने जोखिम देखिएकाले सीमा सिल गरिएको जानकारी दिए। उनले एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारीसाधनबाहेक सम्पूर्ण आवतजावतमा रोक लगाइएको बताए।
छिमेकी जिल्ला बाँके र कैलाली तथा भारतको बहराइचमा कोरोना संक्रमित देखिएकाले बर्दिया उच्च जोखिममा रहेको भन्दै लामिछानेले लकडाउन थप कडा गरिने बताए।
कैलालीसँगको सीमा भने करिब एक महिनाअघि नै सिल गरिसकिएको छ। साथै प्रशासनले अनावश्यक भीडभाड हुन नदिन जिल्लामा साताको तीन दिन मात्र उपभोग्य सामान खरिदबिक्री खुला गर्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारीलगायत पसल खोल्न पाइनेछ। यसअघि प्रत्येक दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म पसल खोल्न दिइन्थ्यो।

