जापानले बनायो कोरोनाविरुद्ध औषधि, परीक्षणका लागि ४३ देश पठाउँदै

एजेन्सी, जापानले कोरोनाविरुद्ध औषधि बनाएको दावि गरेको छ ।  रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोगका लागि परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो ।

म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत सुरु गरिसकेको छ । अविगान ब्रान्डका नामले चिनिएको यो औषधिले मानिसको कोषमा भाइरसलाई संख्या वृद्धि गर्नबाट रोक्छ । सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले यो औषधि बनाएको थियो ।

जापानमा मे ३१ सम्मका लागि आपतकाल घोषणा गरिएसँगै सोमबार त्यहाँका प्रधानमन्त्री सिन्जो अबेले फेभिपिराभिर परीक्षणका लागि निर्णय अघि सारेका हुन् । जापान सरकारले अप्रिलमै फेभिपिराभिरको उत्पादन बढाउन सुरु गरेको थियो ।

कोरोना भाइरसको उपचारका लागि यसले सकारात्मक असर पार्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । जापान सरकारले औषधिको मूल्य भने तोकिसकेको छैन । जापानमा उत्पादित कुनै पनि किसिमको औषधिको मूल्य सरकार आफैँले तोक्ने गर्छ ।

जापानका विदेशमन्त्री तोसिमेट्सु मोटेगीले ४३ देशमा २० देखि एक सय मानिसमा परीक्षण गर्ने किसिमले औषधि पठाइरहेको बताएका छन् । म्यासाचुसेट्सस्थित हार्डवर्ड विश्वविद्यालयको दोस्रो शिक्षण अस्पताल ब्रिघम र महिला अस्पतालमा ५० बिरामीमा गत अप्रिलमै फेभिपिराभिर औषधिको दोस्रो चरणको परीक्षण सुरु भएको थियो ।

स्कुल औषधि विकास विभाग प्रमुख रोबर्ट फिनबर्गले औषधिले संक्रमितको निको हुने समय र जटिल अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास रहेको बताएका छन् । चीन र जापानका अनुसन्धानकर्ताहरूले केही महिना अघिदेखि नै फेभिपिराभिरको प्रभावकारिताको अध्ययन गरिरहेका छन् ।

यो औषधिको परीक्षण चीन र इटालीमा भइसकेको छ । भारतमा पनि औषधिको परीक्षण हुने भएको छ । चीनमा गरिएको एक परीक्षणमा यो औषधि लिएको चार दिनमा बिरामीको परीक्षण नकारात्मक देखिएको थियो । चीनको राष्ट्रिय बायोटेक्नोलोजी विकास केन्द्रले जनाएअनुसार फेभिपिराभिर औषधि प्रयोग गरिएका आठ प्रतिशत बिरामीले मात्रै भेन्टिलेटर प्रयोग गर्नुपरेको थियो ।

कोरोना भाइरसविरुद्धको खोप र औषधिको विकासका लागि विश्वभरका वैज्ञानिकहरूको दौड चलिरहेको छ । यसअघि मेडिकल परीक्षणमा सफल देखिएपछि अमेरिकाले इबोलाविरुद्ध बनेको औषधि रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने भएको छ । नयाँपत्रिका