हुलहुज्जतसहित भारतीय हुल नेपाल छिर्न खोजेपछि प्रहरीद्वारा हवाई फायर
झापास्थित नेपाल-भारत सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ।
त्यस क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै त्यो समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
‘हिजो रातिको कुरा हो, सय जनाजतिको संख्यामा भारतीय नागरिक झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेका थिए,’ प्रहरी उपरीक्षक कोइरालाले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘त्यस क्रममा उनीहरूले प्रहरीलाई नै आक्रमण गरेपछि सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेर भगाएको हो।’
कोरोना भाइरस संक्रमणको महामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएको छ। नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमित देखिन थालेपछि सरकारले नेपालीलाई समेत छिर्न नदिएर नाकामा कडाइ गरेको छ।

