निको भएर घर फर्किएका युवकलाई फेरि आइसोलेसनमा

रौतहट,दुई साता कोरोना भाइरसको उपचारपछि गत साता डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई पुन कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ। उनलाई हिजो राति वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो।

गत १ वैशाखमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई त्यसै दिन नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको थियो। तर, पछिल्लो दुई रिपोर्ट नगेटिभ देखिएपछि उनी १४ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायले युवक घरमा एक साता बस्दा लक्षण दोहोरिएको बताएपछि अस्पतालमा राखिएको बताइएको छ। यस्तै आज उनको थ्रोट स्वाब र रगतका नमुना लिएर पुन कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको बताइएको छ।

सो अस्पतालमा अहिले ८ जना बिरामीले कोरोना भाइरसको उपचार गराइरहेका छन्। ‘मानिसको शरिर हो, केही गढबडी भएपछि अस्पताल त ल्याउनैपर्‍यो नि। फेरि कोरोना देखिएर ल्याएको होइन।’ डा. उपाध्यायले भने। शरीरमा समस्या देखियो भनेर चेकजाँचका लागि ल्याएको हो। कोरोना नै हो होइन? भन्ने सवारमा पछि रिपोर्ट आएपछि मात्र बताउन सकिन्छ’ डा. उपाध्याय भने। युवकलाई अस्पतालको आइसोलेशन वार्डमा नै राखेर उपचार भने भइरहेको अस्पतालले जनाएको छ।