लकडाउनकाे बेला स्वास्थ्यकर्मी बिष्टद्भारा घर-घरमा पुगेर स्वास्थ्य सेवा

भालुवाङ,  लामाे समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्ताे बिषमपरिस्थितमा पनि स्वास्थयकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी खटिनु पर्ने बाध्यता छ । यस्ताे बेला कतिपय स्वास्थ्यकर्मी कोरोना भाइरसको डरले मेडिकल नै बन्द गरेर घर भित्रै लुकेर बसेका छन् ।

कतिले मेडिकल खोले पनि २ मिटर परबाटै बिरामीको स्वास्थ्य अवस्थाको बारेमा सोधेर बिना चेकजाँच गरी अाैषधी दिने गरेका छन् । तर दाङका एक स्वास्थ्यकर्मीले भने जोखिम मोलेर जेष्ठ नागरिकको उपचार गर्न बिकट पहाडी गाउँ पुगेका छन् ।

विष्ट स्वास्थ्य पोलिक्लनिकका सञ्चालक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)का अध्यक्ष एवम् निलसागर सेवा अाश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्ट सुगम गाउँपालिकाको भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिने राप्ती गाउँपालिका वडा नम्बर ९ को पहाडी गाउँ देवीकोट र रुपाकोटका जेष्ठ नागरिकहरुको घर-घरमा पुगेर स्वयंसेवकको रूपमा सेवा गरेका छन् । सहयोगी देवप्रसाद चाैधरी सँग करिब अढाई घण्टाको पैदलयात्रा गरेर आवश्यक सामाग्री काँधमा बोकेर पहाडी गाउँ पुगेका हुन् । लकडाउनका बेला पनि अाफ्नै घर अाँगनमै स्वास्थ्यकर्मी अाउँदा जेष्ठ नागरिक समेत खुसी भएका थिए ।

देश लकडाउनमा छ गाडी चल्न पाएको छैन, एम्बुलेन्स अाउनको लागि पनि गतिलो बाटो छैन, गर्मीका बेला बिरामी बोकेर देउखुरीकाे सिसहनियाँ, लालमटिया, भालुवाङ जाने अवस्था पनि छैन तर गाउँमै स्वास्थ्यकर्मी अाएपछि अाफूहरूलाई निकै खुसी लागेको एक जेष्ठ नागरिकले बताएका छन् । देवीकोट र रूपाकोटका करिब ३२ जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको थियो ।

स्वास्थ्य चेकजाँच गरिएका मध्ये अधिकाशंको उच्च रक्तचाप, ढाड कम्मर दुख्ने, घुडा खिइएको, दमको समस्या रहेको स्वास्थ्यकर्मी विष्टले बताए । स्वास्थ्य चेकजाँच कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले विषेश सहयोग गरेका थिए ।