थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ५९

नेपालगन्ज, बाँके नेपालगन्जमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो।

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको बताइएकाे छ  । अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।