अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको छ । जसअनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।

यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपियाँ चुक्ता पुँजी पुयाउनुपर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।