कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी

काठमाडौं , चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ ।

चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट अनुसार कोरोना भाइरस सन् २००३ तिर फैलिएको सार्स नियन्त्रणमा आएजस्तो समाप्तै भएर जाने अवस्था छैन । लक्षण नदेखिने संक्रमितहरुले कोरोना भाइरसको संक्रमण फैलाउने खतरालाई बढाइरहेको द हिलले प्रकाशित गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणमा समस्या हुने शोधकर्ताको दावी छ । सार्सका संक्रमित एकपटक क्वारेन्टाइन बसेपछि फैलिने क्रम रोकिएजस्तो कोरोनाको हकमा नपाइएको शोधकर्ताहरुले जनाएका छन् । कोरोनाको भाइरसको महामारी नियन्त्रणमा आएको चीनले घोषणा गरे पनि पुनः एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केसहरु देखिरहेका छन् ।

चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइका अनुसार कोरोना भाइरसलाई जरैदेखि उल्मुलन गर्न नसकिए यसले लामो समयसम्म महामारीको पुरावृत्ति गरिरहनेछ । अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले पनि गत महिना कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएको थियो ।