एडिबीले नेपाललाई ३१ अर्ब सहुलियत ऋण दिने

काठमाडौं , एशियाली विकास बैंक, एडीबीले ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर अर्थात करिब ३१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे बुधबार भएको टेलिफोन वार्तामा बैंकले त्यस्तो जानकारी दिएको हो।

वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैंकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको थियो।

अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न बैंकले अनुदान सहयोगमा ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकामा आभार व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ।