सिमामा भारतीयले कुटे दुई प्रहरीलाई

कपिलवस्तु,सिमामा ओहोर दोहोर गर्न नदिएको भन्दै नेपाल भारत सीमाक्षेत्रको सुरक्षाका लागि खटिएका दुईजना सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ सेमरी नाकामा सीमा सुरक्षामा खटिएका मर्यादपुर प्रहरी चौकीका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीमाथि कुटपिट भएको हो ।

उनीहरुलाई सीमा नाका सँगैको भारतीय गाउँ पर्सौनाका भारतीयहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । दुई प्रहरीलाई कुटपिट गर्दै दुईसय मिटर दक्षिणतर्फ लखेटेको अवस्थामा नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

कुटपिट गर्नेमध्येका ३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । कोरोनाका कारण सिमा सिल गरिएपछि प्रहरीले दोहोर दोहोर गर्न कडाइ गरेको भन्दै उनीहरुले कुटपिट गरेको हुनसक्ने सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए ।

सिमामा कडाइ गरेको भन्दै केहि समयदेखि उक्त क्षेत्रका भारतीय युवाले प्रहरीलाई धम्कि दिदै आएका थिए ।घटनाका विषयमा अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।