सांसद अपहरणको जाहेरी दिन जनता समाजवादीका नेता सरकारी वकिल कार्यालयमा

काठमाडौं । सांसद अपहरणको किटानी जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर टेकुले यसअघि जाहेरी लिन नमानेपछि मंगलबार उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् । 

सांसद यादवसहित समाजवादीका नेताहरुले आइतबार टेकु पुगेर दिएको जाहेरी दबाबका कारण प्रहरीले दर्ता गर्न मानेको थिएन। समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएका थिए।

उक्त प्रकरणलाई समाजवादीले अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएका छन्। प्रहरी कार्यालयले जाहेरी लिन नमानको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेका हुन्। सरकारी वकिल कार्यालयले उजुरी दर्ता गरी जाहेरी सम्बन्धी प्रहरी कार्यालयमा छानबिनका लागि पठाउनुपर्ने कानुनी व्यवस्था छ।