भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन, भरतपुरको विषेश कोरोना अस्पतालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले मंगलबार दिउँसो अस्पतालमा छापा मारेको हो।

मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यस विषयमा अख्तियारले थप विवरणहरु बाहिर ल्याएको भने छैन।

चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको तत्वधानमा तयार भएको थियो। चैत २१ गते सो अस्थायी अस्पताल पनि भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो। सरकारी अस्पतालले बैशाख १ गतेदेखि त्यहाँको व्यवस्थापन सम्हालेको हो। कर्मचारीहरुले सामानहरु ओसारेको भिडियो सोमबार र्साजनिक भएको थियो।

अस्पताल पक्षले भने सामान चोरी भएको नभई प्रकृयाअनुरुप सामानहरु ओसारेको दाबी गर्दै आएको छ। बुझबुजारथका क्रममा भएको सामान ओसारपसारको भिडियो दृश्यलाई ‘नियतवस अतिरञ्जित तरिका’ले सार्वजनिक गरिएको अस्पताल व्यवस्थापनले दावी गरेको छ।