क्वारेन्टाइनबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट, रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्किएर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । तर क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना संक्रमण देखिएको बताइएकाे छ ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनी घर फर्किएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी भइरहेको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी क्वारेन्टाइनमा बसिरहेका छन् ।