नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा ‘निर्णायक’ वार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।

यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । ओली र नेपालबीचको छलफलमा दुवै तर्फका नेतालाई विवाद मिलाउने जिम्वारी दिएको स्रोतले बताएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता सुरु भएको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन्। प्रधानमन्त्री ओली पक्ष भने नेपाल पक्षसँग सहमति गरी सत्ता जोगाउने तयारीमा लागेको छ।