५० हजारमा कोरोना परीक्षण गर्दा ४९ जना संक्रमित

काठमाडौं,  नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमा कोरोना भाइरस परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ४९ हजार ३ सय ३६ जनाको परीक्षण गरिएको जानकारी दिए।

र्‍यापिड टेस्टमार्फत प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, वागमतीमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिममा १० हजार २ सय४ को परीक्षण गरिएको छ।

अहिलेसम्म आइसोलेसनमा ८७ रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म २९० जना ‘रेड जोन’ मा छन्। हालसम्म नेपालमा ४९ जना संक्रमित भएकोमा १२ जना निको भएर घर फर्किएका छन्।