क्वारेन्टाइनमा बस्दा औलोको संक्रमण

काठमाडौं। नेपालमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा औलोको संक्रमण पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो रोगको संक्रमण देखिएको जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा केही मानिसहरूमा औलो रोगको संक्रमण देखिएको बताए।

“यो समय औलोको संक्रमणसमेत देखिने समय हो”, उनले भने, “क्वारेन्टाइनमा रहेका व्यक्तिमध्ये केहीमा परीक्षण गर्दा यसको संक्रमण पाइएको हो।”

उनले क्वारेन्टाइनमा औलोको संक्रमण देखिएकाले अझ सजग हुनुपर्ने देखिएको प्रष्ट पारे। गर्मीयाममा औलोको प्रकोप बढी देखिन्छ।

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा परीक्षण गर्दा औलो पोजिटिभ देखिएको हो। मन्त्रालयले परीक्षणका क्रममा औलोको संक्रमणसमेत देखिएकाले क्वारेन्टाइनको गुणस्तर वृद्धि गर्दै जानुपर्ने आवश्यकता देखिएको प्रष्ट पारेको छ।

मन्त्रालयले सजगता अपनाउन सबैलाई अनुरोध गरेको छ। औलो लामखुट्टेको टोकाइबाट हुन्छ।

विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जाने गरेको छ। नेपालले सन् २०२५ सम्ममा औलो मुक्त गर्ने योजना बनाएको छ।

अहिले देशैभरका क्वारेन्टाइनमा १४ हजार ७३१ जना मानिस रहेका छन्।