जननी

 

आमा एक तिमी समस्त धरणी मेची र काली सरि
सारा रात बिते चुसेर सरिता छाती बनेथे झरी
खेल्ने काखदिई सिरान करका बच्चा नहुर्कुन् किन ?
देवी हौ जननी सधैँ जगतकी सक्ला र को बिर्सिन ?

१)

तिम्रो स्वच्छ तथा अपार ममता छल्केर आँखाभरि
मेरो प्राण रह्यो म बाट कुभलो होला र खै के गरी ?
मेरो स्वर्ग तिमी नयाँ कुसुम झैँ सौभाग्य सारा तिमी
तिम्रा सन्ततिका निमित्त जहिले आँखा कि तारा तिमी ।

२)

तिम्रो काख धरा दुई सरहदी गर्ने छु रक्षा भनी
मैले सैनिक भै कडा कदमले दायित्ववाला बनी
हाम्रा शत्रुहरू छिमेक तिरका सीमा मिचेरै बसे
तिम्रा सन्ततिका विचार बदली ऐले तराई पसे।

३)

सत्ता निम्ति यहाँ हरेक अगुवा झुक्ने भए आखिर
आफ्ना सन्ततिका निमित्त खुद नै बाँध्दै गए जन्जिर
खोला, नाल दिए इमान अनुलोम् सत्ता टिकेमा खुसी
कोही एक भए स्वतन्त्र अगुवा बन्ने छ छिट्टै छुसी।

४)

लाखौंलाख युवा विदेश दगुरे बाँच्ने कला खोजदै
जो नेपाल तिरै बसेर गरुँ क्यै भन्ने त रोए सधैँ
जिल्ला अञ्चल थे प्रदेश हुन गो बाँडीन थाले जन
उस्कै चाल छ यो मधेस तिरको जग्गा उतै गाभन।

५)

हाम्रो भूमि कतै बहेर तल नै जाला कि भन्ने भय
नाका बन्द हुँदा अनेक घटना घट्दा थियो संशय
रक्षा खातिरमा म प्राण दिउँला आमा तिमी हाँस है
मर्नै पर्छ भने म मर्छु सहजै माता तिमी बाँच है।

६)