कोरोना भाइरसको महामारी छिटै रोकिँदैन : डब्लुएचओ प्रमुख

काठमाडाैँ, कोरोना भाइरसको महामारी छिटै नरोकिने विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन् । उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा भाइरस संक्रमितको संख्या अझै बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरि अहिलेसम्म २६ लाखभन्दा बढी मानिसमा भाइरसको संक्रमण भएको छ भने एक लाख ८० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

‘कुनै गल्ती नगर्नुहोस्, हामीले धेरै लामो यात्रा गर्नुपर्छ, यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ, धेरैजसो देशहरू अझै पनि महामारीको प्रारम्भिक चरणमा छन्’ टेड्रोसले भर्चुअल प्रेस सम्मेलनमा भने,महामारीको सुरुवातमा प्रभावित भएका कतिपय देशमा पुनः भाइरसको संक्रमण देखिन थालेको छ ।’

केही देशहरूले लकडाउन प्रतिबन्ध हटाउन थालेकाले डब्ल्युएचओ प्रमुख टेड्रोसले यसबारे गम्भीर चेतावनी दिएका हुन्। महामारीले विश्वभर स्वास्थ्य संकटकाल मात्र नभई अर्थतन्त्रमा पनि असर पुऱ्याएको छ, व्यवसाय ठप्प भएका छन्, लाखौँ मानिस बेरोजगार भएका र धेरैले भोकमरीको सामना गरिरहनुपरेको छ ।

अमेरिकामा लकडाउन बिस्तारै खोल्ने योजना सार्वजनिक भएपछि अमेरिकामा दोस्रो चरणको महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।