सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेको अनुरोध

नेपालगन्ज,सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न नेकपा बाँकेले अनुराेध गरेकाे छ । नेकपा बाँकेले प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर एकद्धार प्रर्णालीबाट राहत वितरण गर्न अनुरोध गरेको हाे ।

जिल्ला अध्यक्ष आईपी खरेलको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्यालय बैठकले आफुखुशी भईरहेको राहत वितरण कार्य तत्काल रोक्न स्थानीय प्रशासनलाई अनुरोध समेत गरेको हो ।

नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार बैठकले कोरोनाको संक्रमण फैलिन नदिन जिल्लामा गरिएका प्रयास, जिल्लाको वर्तमान अवस्था र राहत वितरणको अनूगमनका लागि जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला, कार्यालय सदस्य प्रमोद धिताल, अव्दुल हुसेन खान र अशोक कर्माचार्य रहेको ५ सदस्यीय समिति गठन भएको छ ।

यसैगरी बैठकले आठ वटै स्थानीय तहमा राहत वितरण लगायतका विभिन्न कामको अनूगमनका लागि फोकल पर्सन तोकेको छ । डुुडुवामा निरक गुरुङ, खजुरामा रत्न खत्री, नेपालगञ्जमा डिल्लीप्रसाद बराल, जानकीमा पदम धिताल, बैजनाथमा दिपेन्द्र शाह, कोहलपुरमा रेणुका खड्का, राप्ती–सोनारीमा अवराज खड्का र नरैनापुरमा सब्बिर खाँलाई फोकल पर्सन तोकिएको हो ।

बैठकले बाँकेका विभिन्न सडकमा गन्तव्यमा पुग्नेक्रममा देखिएका ब्यक्तिहरुको खाने बस्ने लगायतको ब्यवस्थाका लागि राजमार्गसँग जोडिएका स्थानीय तहलाई अनुरोध गर्दै स्थानीय पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको अवस्थामा सरकारद्धारा आम नागरिक,उद्योगी ब्यवसायी लगायतलाई राहत दिन भएको निर्णयको ब्यवहारिक कार्यान्वयनको माग गरेको छ । बैठकले मुस्लिम समुदायको आउँदै गरेको रमजान पर्वको अवसरमा शुभकामना दिदै सामाजिक दुरी कायम गरेर पर्व मनाउन सुझाव दिएको छ ।