गल्ती

मणि जहिल्यै शिरमा सुहाउँछ
हाम्रो शिरमा पनि जो श्वेत टल्किन्छ
त्यो मणि हो ।
तर, हामी पित्तल खोज्न ‘बम्मइ’ पुग्यौँ ।

कतै मणि मुनि, कतै पातमुनि
कतै जरामुनि, कतै शिलामुनि
प्रकृतिले राखिदिएकी छिन अमृत
हामी ओख्तो खान थाल्यौँ
‘प्लाष्टिक’ को ।

फापर र कोदोले गोर्खाली बनाएथ्यो ।
मकैका फुरले विर बनाएथे ।
हामीलाइ ‘बिस्कुट’ खान मन लाग्यो
हेलामा परे फापर र कोदो
मकै लज्जीत भो

वृक्ष वृक्षमा सोमरस झुण्डिएकै छन ।
हामीलाइ ‘वियर’ र ‘कोकाकोला’ चाहियो ।
सकेको अरिंगालले चुसे ।
सकेको केटाकेटीले भकुण्डो खेले ।
स्याउ र सुन्तलाको ।

टिमुर झरेर जमिन अमिलो भो ।
रिठ्ठा झरेर जमिन धमिलो भो ।
टिमुरको रुख काटिदियौँ ।
रिठ्ठाको रुख ढालिदियौँ ।
नुन किन्ने घ्यु थुनमै सुक्यो ।

महाकाली ‘शारदा’ बनिरह्यो
कर्णाली ‘घाँगरा’ बनीरह्यो
कोशी ‘दामोदर’ बनिरह्यो
तर किनारको माटो तड्पिरह्यो
पेट त भर्नै पर्छ ।

गास, वास र कपासको जरुरत थियो
उत्तेजित भयौँ
गएर तिनकै छाक खाइदियौँ
आएर आफ्नै घर जलाइदियौँ
भएको ‘कच्छा’पनि फालेर नांंगै भयौँ

जरुरत छ
गफको खेतीमा आगो लगाउनु
प्यासी धरालाइ तृप्त पार्नु

खोज्नु आफुमा आफु

गल्ती गर्न छुट त छ
तर, अबको गल्तीले क्षतिपुर्तिमा
हाम्रो अस्तित्व माग्नेछ ।