बाँडे आँचल र उदिपले सय परिवारलाई राहत

काठमाडौं , सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप श्रेष्ठले आफ्नो टोलका एक सय परिवारलाई राहत वितरण गरेका छन् ।

आर्थिक रुपमा समस्यामा परेका परिवारलाई आँचल र उदिपले खाद्यान्न सहयोग गरेका हुन् । आँचलले सामाजिक सञ्जालमार्फत आर्थिक समस्यामा परेकालाई सहयोग गरेको बताएकी छिन् । उनले सबैलाई एकजुट हुन र सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले क्षेत्रपात्री क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको र पुनः सहयोग गर्ने पनि बताएकी छिन् ।

‘म र उदिप जीले एउटा वेबसाइट निर्माण गरेर अनलाइनमार्फत जानकारी लिएर सहयोग गर्ने योजना बनाएका छौं, छिट्टै यसबारेमा जानकारी दिनेछु,’ आँचलले भनिन् । अरु नेपाली कलाकारहरुले ज्याला मजदुरी गर्दै आएका परिवारलाई सहयोग गर्दै आइरहेका छन् । केही समयअघिसम्म भने आँचलले बडो तामझामका साथ बिहे गरेको तर आर्थिक सहयोग नगरेको भन्दै विरोध भएको थियो ।

आँचलले गत २९ फागुनमा डाक्टर उदिप श्रेष्ठसँग बिहे गरेकी थिइन् । बिहेमा उनले १६ लाखको लेहेंगा लगाएको र हेलिकप्टर चढेर ह्यात होटलमा गएको खबरले चर्चा चर्चा पाएको थियो ।