जन्मथलो हिडेकाहरुलाई ‘डण्डा’ लगाएर रोक्ने सरकारी तयारी !

काठमाडौं, शहरमा खानबस्न समस्या भएपछि जन्मथलो हिडेकाहरुलाई रोक्ने सरकारले तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यो तयारी भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिहरुसँग छलफल पछि उदारता देखाउने भन्दापनि कडाईका साथ लकडाउनको पालना गराउन निर्देशन दिएका थिए ।

घर जान हिडेकाहरुलाई सुरक्षितसँग घरसम्म पुर्याउन सर्वोच्च अदालतले आदेश दिएको र राष्ट्रिय मानव अधिकार आयोगले शहरमा सरकारले बस्नखान व्यवस्था नगरेकोले गाउँ हिड्न बाध्य भएको बताइरहेको बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सुरक्षित तरिकाले अलपत्र परेकाहरुलाई घरसम्म पुर्याउन निर्देशन दिने धेरैले गरेको अपेक्षा विपरित बरु खाद्यान्नको व्यवस्था गर्नु तर कुनैपनि हालतमा गाउँ जान नदिन निर्देशन दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बीच बाटोमा पुगेकाहलाई गाउँसम्म पुर्याउने वा रोक्ने भन्ने कुनै निर्णय गर्न सकेको थिएन ।

प्रधानमन्त्री जो जहाँसम्म पुगेको छ, त्यही रोक्न निर्देशन दिएपछि सरकारले आजबाट डण्डा लगाएरै भएपनि रोक्ने देखिएको छ । निर्देशन नपाउँदासम्म त दुव्र्यवहार गर्ने सुरक्षाकर्मीले यस्तो निर्देशन पाए जन्मथलो जान हिडेकाहरुमाथि डण्डा लाग्न सक्ने देखिएको भन्दै सामाजिक संजालमा प्रधानमन्त्रीको निर्देशनको विरोध भइरहेको छ ।