बिज्ञानको हार भो
आयो खै किन आज आपस सबै भागेर हिँड्ने दिन ।
हाम्रो यो अनुहार शीघ्र अहिले छोप्ने बनाइस् किन ?
भन्छन् भन्न त दैवमा विजय भो बिज्ञान संसार भो ।
मर्छन् लाख प्रकोपमा अब बुझौं बिज्ञानको हार भो ।१।
भागोस् राक्षस दुष्ट कोभिड सदा हाम्रो नयाँ वर्षमा ।
नाचोस् गीत सुनेर मिष्ट धुनको नेपाल यो हर्षमा ।
छाडा चाल चलेर स्वर्ण पलमा सर्वस्व बेकार भो ।
कोरोना भयग्रस्त भो भुवन यो बिज्ञानको हार भो ।२।
कालो कर्म गरेर दुष्ट जनले पुस्तौं कमाए धन ।
छोडे वैभव,प्यार ,सन्तति लिए पापिष्ट खोक्रो मन ।
गर्छौं वाद विवाद राहत दिँदा भन्छौं सधैं एकता ।
मान्छे हो किन निर्दयी खुब बन्यौ लज्जा गयो खै कता ?३।
के हो काम ,कर्तव्य छान्न गतिलो के छैन भित्री तुलो?
देख्छौ दौलत ए! मनुष्य किन खै यो प्राण भन्दा ठुलो।
लाखौं प्राण निभाउने रहर भो कस्ता महामूर्ख हौ ।
पर्छौ सुस्त बलिस्ठ जाल भन के मान्छे तिमी मात्र छौ ? ४।
नलगाड नगरपालिका – ७ ,दल्ली,जाजरकोट ।