जाजरकोटको नलगाड र छेडागाडमा पनि कोरोना परिक्षणको सबै रिर्पोट नेगेटिभ

जाजरकाेट, नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार गरिएको कोरोना भाइरस द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको छ । नलगाड नगरपालिकाको दल्ली र चौखा, छेडागाड नगरपालिकाको मनघाटमा गरिएको द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको हो ।

नलगाड नगरपालिकाको चौखामा १७ र दल्लीमा २६ जनाको द्रुत परिक्षण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए । चौखामा परिक्षण गरिएका १७ जनामध्ये ४ जना महिला र १३ जना पुरुष रहेका थिए भने, दल्लीमा परिक्षण गरिएका २६ जनामध्ये ९ जना महिला र १७ जना पुरुष रहेको अधिकृत सिंहले बताए । नलगाड नगरपालिकामा परिक्षण गरिएका जम्मा ४३ जना मध्ये १३ जना महिला रहेका छन् भने, ३० जना पूरुष रहेका छन् । परिक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको अधिकृत सिंहले जानकारी दिए ।

त्यसैगरि छेडागाड नगरपालिकाको मनघाटमा पनि २१ जनाको द्रुत परिक्षण विधिबाट कोरोना भाइरस परिक्षण गरिएको छ । परिक्षण गरिएका २१ जना सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाका सुचना अधिकारी देव बहादुर वुढाले जानकारी दिए ।

यो भन्दा अगाडी छेडागाड नगरपालिकामा तीन, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१ र बारेकोट गाउँपालिकामा ५५ गरि जम्मा २ सय ६७ जनाको स्वाब परिक्षण गरी सकेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार हालसम्म परिक्षण गरीएका २ सय ६७ जनाकै रिर्पोट नेगेटिभ देखिएको छ ।

भेरी नगरपालिकामा मंगलबार र बुधबार, बारेकोट र जुनीचाँदे गाउँपालिकामा बिहिबार, नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार परिक्षण गरिएको छ भने, शिवालय गाउँपालिका र कुशे गाउँपालिकामा सनिबार परिक्षण गर्ने तयारी गरिएको छ । भारत लगाएत अन्य मुलुक र जिल्ला भन्दा बाहिरबाट एक महिना देखि यता आएका नागरिकहरुको द्रुत परिक्षण बिधीबाट स्वाब परिक्षण गर्ने गरिएको छ ।