कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन

सबै वडामा वडाध्यक्षको संयोजकत्वमा सतर्कता समिति गठन गरेका छौँ

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ?

लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको अर्काे विकल्प पनि छैन । त्यसैले सबै नागरिकले लकडाउनको पूर्ण रुपमा पालना गर्नुपर्छ ।

कपुरकोट गाउँपालिका पनि एक स्थानीय सरकार भएकाले आफ्नो क्षेत्रभित्र लकडाउन कार्यान्वयन गराउनमा लागि परेको छ । यहाँका राजनीतिक दल, सुरक्षाकर्मी, संचारकर्मी लगायत संग समन्वय गरेर हामी जनप्रतिनिधी तथा हाम्रा स्वास्थयकर्मीहरु कोरोना भाइरस फैलन नदिन उच्च सतर्कताका साथ काम गरिरहेका छौँ ।

२. सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्न के के तयारी गर्नुभएको छ ?

कपुरकोट गाउँपालिका कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका पनि हो । यो नाकाबाट भारत लगाएत विभिन्न देशबाट फर्केकाहरु तथा देशका विभिन्न शहर बजारबाट मानिसहरु कर्णालीका विभिन्न जिल्ला भित्रने गर्छन् । यसर्थ कोरोनाको जोखिम पनि देखिने भइहाल्यो । यहि कुरालाई मध्यनजर गरेर हामीले गएको चैत्र १ गते देखी नै कपुरकोटमा हेल्थ डेस्क स्थापना गरेर ज्वरो जाँच तथा आवश्यक परामर्श दिने कार्य गरेका छौँ । कर्णाली प्रदेश सरकारसंगको समन्वयमा स्थापना गरिएको हेल्थ डेस्कमा चौविसै घण्टा चेकजाँच र आवश्यक परामर्श दिने कार्य भइरहेको छ ।

यसका साथै गाउँपालिकाका सबै वडाहरुमा वडाध्यक्षहरुको संयोजकत्वमा सतर्कता समिति गठन गरी कोरोना भाइरस संक्रमणबाट बच्ने उपायको बारेमा व्यापक जनचेतनाका संदेशहरु विभिन्न संचार माध्यमहरुबट समेत घरघरमा पुर्याउने काम गरेका छौँ भने ६ वटै वडाका गाउँ टोलहरुमा निगरानि समूह गठन गरी विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई घरपरिवार र छरछिमेकको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी १४ देखि १८ दिनसम्म होम क्वारेन्टाइनमा रहन र गाउँ टोलमा लकडाउनको पालना गर्न लगाउने काम गरिएको छ ।
यसका साथै हामीले कोरोना भाइरसको बारेमा आई.ई.सि.म्याटेरियलहरु छपाई गरी वितरण गरेका छौ र विभिन्न विद्युतिय सञ्चार माध्यमबाट सुचनाहरु दिने काम तथा आवश्यक औषधी तथा उपकरणहरु खरिद गरी राखिएको छ ।

३. तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

हामीले वैदेशिक रोजगारीको लागि विदेश गएका गाउँपालिका भित्रका मानिसहरुको तथ्याङ्क संकलन गरेका छौँ । जस अनुसार हालै मात्र ३१ जना ब्यक्तिहरु भारत लगाएत विभिन्न देशबाट यस गाउँपालिकामा फर्किनुभएको छ ।

खास गरी विदेशबाट घर फर्किएका गाउँपालिका भित्रका व्यक्तिहरुलाई निगरानी समूहले दिएको सुचनाको आधारमा म लगायत अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु तुरुन्त उनीहरुको घरमा पुगी चेकजाँच र आवश्यक परामर्श गरी होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौँ भने नियमित फ्लोअप गर्ने काम पनि भइरहेको छ । उहाँहरुका हालसम्म त्यस्तो कुनै समस्या देखिएको छैन ।

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

यो कुरामा हामिले विशेष ध्यान दिएका छौँ । खास गरेर हाम्रो गाउँपालिकाभित्र रहेका मुख्य मुख्य खाद्यान्न विक्रि गर्ने ब्यापारिहरुलाइ पनि हामीले खाद्यान्न अभाव हुन नदिन समयमै खबर गर्न भनेका छौँ । खाद्यान्न ढुवानीका लागि सवारी साधन पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने कार्य नियमित चलिरहेकै छ ।

५. धेरैजसो स्थानीय तहमा लकडाउनको पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

हाम्रोमा लकडाउन पालना नभएको हामीले देखेका छैनौँ । लकडाउन कार्यान्वयन गराउन सुरक्षाकर्मी, जनप्रतिनिधी लगाएत विभिन्न सतर्कता समितिहरु लागेकै छन् । यदाकता ग्रामिण क्षेत्रमा केहि समस्या देखिएको भन्ने गुनासोह रु आएको सन्दर्भमा त्यहाँ पनि हामीले सुरक्षाकर्मी पठाएर सामाजिक दूरी कायम राख्न, लकडाउनको पालना गर्न लगाइरहेका छौँ ।

६. राहत बितरण देखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

कोरोना भाइरस फैलन नदिन नेपाल सरकारले लामो समय लकडाउन गर्नु परेको र यसबाट अति विपन्न परिवार र असंगठित मजदुरहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखी वडाबाट लगत संकलन गरी वडा समितिबाट सिफारिस भईआएका घरपरिवारलाई पहिलो चरणमा खाद्य राहत सामग्री वितरण गरेका छौँ । १२८ घर परिवारलाई हामीले पहिलो चरणमा २५ किलो चामल, एक एक किलो दाल र नुन तथा एक लिटर तेल, एउटा साबुन तथा मास्क वितरण गरेका छौँ ।

बजारमा किन्न नपाइएका अत्यावश्यक सामान तथा उपकरण आपूर्तीका लागि संघीय र प्रदेश सरकारमा माग गरि पठाएका छौँ । सबै स्वास्थ्य संस्थाहरुमा ज्वरो कर्नर संचालन गरिएकोे छ । जिल्लासंग समन्वय गरी विदेशबाट फर्किएका ११ जना व्यक्तिहरुको स्वाव कलेक्सन गरि परीक्षणको लागि प्रदेश अस्पतालमा पठाइएको छ । रिपोर्ट आउन बाँकी छ ।