विपत्तिका बेला आफ्ना कार्यकर्तालाई खट्न समाजवादी पार्टी दाङको आग्रह

दाङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालले कोरोना भाइरस कोभिड–१९ को महाविपत्तिमा जिल्लाका हरेक तह र तप्काका नेता तथा कार्यकर्तालाई जनताका हरेक समस्या समाधानका लागि खट्न निर्देशन दिएका छन् ।

लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारको पहिचान गरि उनीहरुलाई राहत प्रदानका लागि स्थानीय तहसंग समन्वय गर्न पनि रिजालले कार्यकर्तालाई निर्देशन दिएका छन् । विश्वमै फैलिएको महामारीका बिषयमा पार्टीको ध्यानाकर्षण भएको भन्दै यस्तो बेला सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्नुका साथै आफ्नो स्वास्थ्यमा ध्यान दिन समेत बैठक पछि जारी बिज्ञप्तिमा भनिएको छ ।

यसै बिच अनलाइन बैठकले कोरोना भाइरस कोभिड १९ महाबिपत्ति समन्वय समिति समेत गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य हरि रिजालको संयोजकत्वमा भिडियो कलबाट बसेको बैठकले सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरेको अबस्थामा पर्न सक्ने हरेक समस्या समाधानका लागि समिति गठन गरेको पार्टीले बताएको छ ।

उक्त समितिले जनतालाई परेका हरेक समस्या समाधानकालागि स्थानीय सरकारसंग समन्वय र सहयोग गर्नेछ । केन्द्रीय सदस्य रिजालका अनुसार होम प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरुमा भरतलाल चौधरी, गणेश पाण्डे, टोपबहादुर महतारा डिल्लीबहादुर डाँगी रहेका छन् ।