लकडाउन

लकडाउनकाे बेला
संयाेगले म मेराे देशमा नै थिएँ र पाे
नत्र भने यतिबेला म
सिमानाकाे खुला अाकाशमुनी
मेराे देश खाेजिरहेकाे हुँदाे हुँ
उतैकाे माटाेमा भाेकै प्यासै
मेराे सरकार पुकारी रहेकाे हुँदाे हुँ ।

लकडाउनकाे बेला
संयाेगले म मेराे घरमा नै थिएँ र पाे
नत्र भने यतिबेला म
भाडाकाे साँगुरो काेठामा बसेर
सकिदै गरेकाे सिलिन्डर ग्यासमा
फाराेतिनाे गर्दै दाल- चामल उमालिरहेकाे हुँदाे हुँ
एकान्तमा हरपल सिरानी भिझाउँदै अाँसुले
अामाकाे प्रेम र बाकाे सुझाव खाेजिरहेकाे हुँदाे हुँ । 

लक डाउनकाे बेला
संयाेगले मेराे घरमा
मकैकाे पिठाे र मुलाकाे गुन्द्रुक थियाे र पाे
मलाई भाेककाे भन्दा राेगकाे चिन्ताले पिराेलिरहेकाे छ
नत्र भने यति बेला म
दिउँसाे पसिना बेचेर साँझकाे गर्जाे तार्ने
कामदारहरुले जस्तै
राेगकाे भन्दा भाेककाे सुर्ताले तड्पीरहेकाे हुँदाे हुँ । 

लकडाउनकाे बेला
संयाेगले म ठिकै छु र पाे
नत्र भने यति बेला मैले पनि
मेराे देश खाेज्दै सिमानामा जुलुस लगाईरहेकाे हुँदाे हुँ
मेराे सरकार पुकार्दै सडकमा मुठ्ठी उचालीरहेकाे हुँदाे हुँ ।

पश्चिम रुकुम, खलंगा