अमेरिकामा काेरोनाबाट २४ घण्टा भित्र १ हजार ९०० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २५ हजार ९२८ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । करिव ४ लाख २६ हजार उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६९२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख ३ हजार बढी रहेको छ ।