लघुकथा : क्लियोपेट्रा
रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो।
रसिक केही क्षण उनको सुन्दरताको जादुमा बहकियो।
यत्तिकैमा रसिककी केटीसाथी रञ्जुले फोन गरिन्।रसिक कल्पनाबाट सतहमा खसेको थियो।
के छ रसिक तिम्रो खबर ,यो सुनसान रातमा कस्को सम्झनामा हराएका छौ ? उनको सिधा प्रश्न थियो।
” क्लियोपेट्रा ” रञ्जु !
उनको प्रश्नको जवाफ दिंदा रसिक अक्मकिएको थियो।
उनले फेरि सोधिन्! “को क्लियोपेट्रा ?”
“इतिहासकी ऐतिहासिक सुन्दर रोम र ग्रीसकी महारानी।” उसले शंकोच मान्दै जवाफ दिएको थियो।
“उ तिम्री हृदयकि महारानी म उसकी दासी ?” रञ्जुले ताना मारिन्।
” क्लियोपेट्रा र ममा कहाँ कस्तो फरक पाउँछौ ,रसिक।मलाई भोलि भन ल ? ” उनले मोबाइलको स्वीच बन्द गरिन्।
रञ्जुले रसिकलाई कल्पना र यथार्थको काँढेझाडीमा हुत्याएर पर भागेकी थिइन्।रसिक दुबै नारीको तुलना गर्दै रातकाट्न बाध्य बनेको थियो।
रसिकले अन्त्यमा निष्कर्ष निकाल्यो ; रञ्जुमा क्लियोपेट्रा भन्दा कतै कमि देखेन।
अङ्गअङ्ग नियाल्यो।धड्कनका सुसेलीहरु सुन्यो।त्यो भद्दा ऐयाश विलाशीता भोगगर्ने नारी भन्दा आफ्नी प्रेयसी अपूर्व थिइन्,महान थिइन्।
रञ्जुले रसिकका आँखा खोलिदिएकी थिइन्।बहकिन दिएकी थिइनन्।
आफ्नू प्रेमिलाई यति सजिलै आफ्नू बसमा राख्नसक्ने रसिककी प्रेमिका रञ्जु ; के क्लियोपेट्रा भन्दा कम चतुर र बुद्धिमानी थिइन् त !
रसिक , प्रेमको जादुयी संसारमा पहिलोपटक यति अद्भुत अनुभुतिको स्पर्श गर्नसकेकोमा दङ्गदास परेको थियो।
दमक नगरपालिका ,झापा