भारतमा कोरोनाबाट १४ महिने बालकको मृत्यु

ज्यान गुमाउने १२४ पुगे

नयाँदिल्ली,  छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा कोरोनाका कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।

भारतमा कोरोनाबाट संक्रमितको संख्या मंगलबारसम्म चार हजार ७८९ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि ३५२ जना निको भएका छन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।

मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको सबैभन्दा बढी हो । यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ । दिल्लीमा ५७६ जनामा संक्रमण भेटिएको छ भने मृतक संख्या नौ जना पुगेको छ । दिल्लीमा मंगलबार दुई जनाको मत्यु भएको छ । दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्, जसलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित ४० जना नयाँ सक्रमित भेटिएका छन् । यहाँ संक्रमितको संख्या ४०४ पुगेको छ । गुजरातमा मंगलबार तीन जनाको मृत्यु भई मृतक संख्या १६ पुगेको छ । महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको छ, यहाँ मृतक संख्या ६४ पुगेको छ । मृत्यु हुने १२ जनामध्ये ६ जना मुम्बईका रहेका छन् र ३ जना पुगेका छन ।

तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् । भारतको उत्तर प्रदेशमा अहिलेसम्म ३०५ जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । विहारमा ३२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।