धमला र विरहीका दुई शक्तिशाली गजल !

कहिले नदिजस्तो कहिले पोखरी जस्तो
जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो ।

दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन
केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ?

उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ ,
त्यो छाँया पनि बेईमान रहेछ तिमी जस्तो ।

म सपनाहरुले पुरिएको एक जिउदो लास हुं,
सधैँ अध्यारोले निलेको त्यो कर्णाली जस्तो ।

पुनम धमाला

बाउ मिल्यो भने छोरो सकभर मिल्दैन
गाउँ मिलाउन भनी हिड्यो घर मिल्दैन ।

महामारी फैलिएको भोकले हो सरकार
के यो सिटामोलको सट्टामा जहर मिल्दैन ?

त्यो सम्बन्धले आत्महत्याको रुप लिन्छ
जहाँ मन मिल्छ रगत मिल्छ थर मिल्दैन ।

उनिहरु चाहेभने घाम किनेर ओढ्छन बाबु
हामिलाई पो चिसोमा पनि स्विटर मिल्दैन ।

कोहि यति जटिल प्रश्न भएर आईदियो कि
सायद जिन्दगीभर खोजेपनी उतर मिल्दैन ।

कृष्ण विरही