लकडाउन उल्लघंन हुन थालेपछि कोहलपुर प्रवेशमा कडाई

कोहलपुर,बाँके लकडाउनकाे उलंघनकाे मात्रा बढेपछि  सरकारले कोहलपुर प्रवेशमा निषेध  गरेकाे छ ।  आगामी बैशाख ३ गतेसम्म लकडाउनको अवधी थपेसँगै बाँकेको कोहलपुर क्षेत्रमा कडाई गरिने भएको हाे  ।

कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई चार घेरामा राखेर लकडाउनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।कोहलपुरमा सोमबार भएको सर्वदलिय÷सर्वपक्षिय भेलाले नगरभित्र प्रवेश गर्ने चारबाट नाकामा कडाई गर्ने निर्णय गरेको थियो ।

जसअन्तर्गत पुर्वतर्फ चप्परगौंडी (रोहिनी खोला), पश्चिमतर्फ मदनचोक, उत्तरतर्फ कौशिलानगर र दक्षिणतर्फ पार्वतीपुरको नाकाबाट कोहलपुर प्रवेश गर्नेलाई कडाई गर्ने निर्णय गरेको बताइएको छ ।

मन्त्रीपरिषद् बैठकले समेत एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा कडाई गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयलाई कार्यान्वयनका लागि यस्तो निर्णय गरेको बताइएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै कोहलपुरमा समेत उच्च सर्तकता अपनाइएको हो ।

सोमबारको बैठकले प्रत्येक वडाका मुख्य सडकहरु पूर्ण रुपमा बन्द गर्ने र विपन्न समुदायका ब्यक्तिहरुको घरमै पुगेर राहत वितरण गर्न वडा कार्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो । लकडाउनको समयमा साँझपख मानिसहरु सडकमा निस्कन थालेपनि अधिकारीहरु लकडाउनलाई अझै कडाई गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।