कोरोना संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

कायरो, कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको कायरोस्थित एक अस्पतालमा उपचाररत थिए । अस्पतालमा उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाइएपछि बनेको अन्तरिम सरकारको प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस अलायन्स नामक राजनीतिक दलको स्थापना गरेका थिए । हृदयघातका कारण अस्पताल भर्ना भएको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लिबियामा बढ्दो हिंसाका बीच पछिल्लो केही समयदेखि जिब्रिल देश बाहिर बस्दै आएका थिए । लिबियामा भने हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भइसकेको छ । १ जना भने उपचार पछि निको भएका छन् ।