पाकिस्तानी प्रधानमन्त्री खानद्वारा‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल

एजेन्सी,  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका छन । प्रधानमन्त्री इमरान खानले देशका जनतालाई पाकिस्तानीहरु कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् भनेर मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका हुन् ।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या २८ सय पार भइसकेको छ । यसैबीच शनिबार कोरोनाभाइरस रोकथाम कोषको स्थापना गर्दै इमरान खानले भने, ‘मैले सोसल मिडियामा यस्ता धेरै पोष्ट देखेको छु जसमा अल्लाहले पाकिस्तानीलाई यसरी बनाएका छन् कि उनीहरुलाई कोरोनाभाइरसले छुँदैन भनिएको छ । आफूले आफैंलाई यस्तो भ्रममा नपार्नुहोस् । कोरोनाले कसैलाई पनि छोड्दैन ।’

प्रधानमन्त्रीले भने, ‘यस्तो मूर्खता नगर्नुहोस् र कोरोनाभाइरससँग लड्नका लागि आवश्यक सावधानी अपनाउनुहोस् ।’ इमरान खानले भने, ‘यदि तपाईंलाई केही पनि हुँदैन जस्तो लाग्छ भने न्यूयोर्कलाई हेर्नुहोस् । त्यहाँ कति धनी व्यक्ति बस्छन् होला, त्यहाँको स्थिती बुझ्नुहोस् त ।’ इमरान खानले आफ्नो देशमा कोरोनाभाइरसको दोहोरो चुनौती भएको बताएका छन् ।

उनले यसबारे जानकारी दिँदै भने, ‘एकाफर्त सरकारले यो भाइरसलाई रोक्नु छ अर्कोतर्फ देशका गरिब जनतालाई बचाउनु पनि छ ।’ उनले देशका कामदारलाई भोकै मर्न नदिने पनि बताएका छन् ।