लकडाउनलाई अझै कडा बनाउने सरकारको निर्णय

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने !

काठमाडौं । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अझै प्रभावकारी बनाउने निर्णय भएको बताए। मन्त्री खतिवडाले सरकारको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक त्यसको लागि सरकारका आवश्यक सबै अंग परिचाला गरिने उल्लेख गरे ।

‘लकडाउनलाई अझै प्रभावकारी बनाउने निर्णय भएको छ’ खतिवडाले भने, ‘त्यसको लागि एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहबीचको आवागमन समेत रोक्ने निर्णय भएको छ ।’

मन्त्री खतिवडाले मुलुकमा पछिल्लो पटक देखिएको कोरोना संक्रमणलाई सरकारले गम्भीर रुपमा लिएको बताए । ‘कैलाली र कञ्चनपुरमा आजै जुन अवस्था देखियो, त्यसबारे समेत छलफल भयो’उनले भने, कैलाली, कञ्चनपुर बाग्लुङ र्यापिटेस्ट बढाउने निर्णय भएको छ ।’

पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

कैलालीसहित तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने

सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको हाे  । र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।