कुन सीमानाकामा कति नेपाली अलपत्र ?

इन्सेकले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

इन्सेकले शनिबार जारी गरेको विज्ञप्तिमा यसरी अलपत्र परेका नागरिकको शीघ्र तथा उचित व्यवस्थापन गर्न माग गरिएको हो ।दार्चुला जिल्लाको सीमाना धारचुलामा ६ सयभन्दा बढी, बैतडीको झुलाघाट नाकामा २ सय २७ जना, कञ्चनपुरको सीमा नाका बनवासामा १ सय १४ जना, भैरहवा सीमानाका बेलहियास्थित नौतुहवा इन्टरकलेजमा ३ सय ५ जना नेपाली क्वारेन्टाइनमा भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सीमानामा रहेका भारतीय नागरिकहरूलाई नेपाल सरकारले र भारतमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने सहमति दुई देशबीच भए पनि भारतीय सीमानामा नेपाली नागरिकहरूको दैनिकी कष्टकर हुनु दुःखद् पक्षका रूपमा लिइनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस विषम परिस्थितिमा नेपाल भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यकता अनुसार भारत सरकारसमक्ष पनि आवश्यक पहलकदमी लिन हामी नेपाल सरकारसँग आग्रह समेत इन्सेकले गरेको छ ।